
काठमाडौँ । स्पेन प्रकरणबारे छानबिन गरिरहेको समितिले महाराजगन्जस्थित एक ट्राभल्स एजेन्सीमा छापा मारेको छ । सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले भिजिट अबरोड टुर्स एण्ड ट्राभल्समा छापा मारेको हो ।
स्पेनको सेभिल्लामा असार १६ देखि १९ सम्म आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउन सो ट्राभल्सले फर्जी कागजात बनाएर मानिसहरू पठाएको आशंकामा छापा मारिएको छानबिन समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । उनले भने, ‘स्पेनमा मानिस पठाउन ट्राभल्सको संलग्नता रहेको सूचनाका आधारमा छापा मारेका हौँ । तर, सो प्रकरणसँग सम्बन्धित कुनै प्रमाण भेटिएन ।’
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको ‘इन्टरनेशनल कन्फेरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स एफएफडी–४’ मा सहभागी गराउन सो ट्राभल्सले फर्जी डकुमेन्ट तयार गरेर पठाएको सूचना प्रहरीले पाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली १४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए । स्पेनको सेभिल्लामा आयोजित कार्यक्रममा प्रधानमन्त्री गएको दिन र भोलिपल्ट पनि अनधिकृत व्यक्तिहरू त्यहाँ गएर नफर्केको छानबिन समितिको प्रारम्भिक निष्कर्ष छ ।
अनधिकृत व्यक्तिहरूले भिसा लिएको सूचना चुहिएपछि भारतको नयाँ दिल्ली स्थित स्पेन दूतावासको आग्रहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ५५ जना फर्काइएका थिए । तर, अर्को समूहका ४९ जना नेपालबाट र अरू केही मानिसहरू नयाँ दिल्लीबाट समेत त्यसतर्फ उडेको छानबिन समितिका सदस्यहरू बताउँछन् । तीमध्ये केही प्रधानमन्त्री ओली गएकै दिन स्पेन प्रस्थान गरेका थिए ।
स्पेन जानेहरूको विवरण पठाउन दिल्ली स्थित स्पेनी दूतावासलाई पत्राचार गरिएको छानबिन समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘कूटनीतिक च्यानल मार्फत हामीले नयाँ दिल्ली स्थित स्पेनी दूतावासलाई पत्राचार गरेका छौँ, त्यहाँबाट विवरण आएको छैन ।’
असार ३१ मा गठन गरिएको छानबिन समितिमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवर, सीआईबीका डीएसपी हरि बस्नेत र इन्स्पेक्टर शेखर खड्का सहित ६ जना सदस्य छन् ।कतिपय व्यक्तिहरू गैरसरकारी संस्थाका प्रतिनिधि बनेर त्यहाँ पुगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा स्पेन उडेकाहरूको सूची प्रहरीले अध्यागमन विभागसँग पनि मागेको छ ।
स्पेन जानेहरूले आफ्नो कागजात बालुवाटार स्थित बिएलएस सेन्टरमा बुझाएका थिए । सो सेन्टरले दिल्ली पठाएपछि स्पेनको भिसा लागेकाहरू स्पेन उडेका थिए । युएनले केही एनजिओका प्रतिनिधिहरुलाई सम्मेलनमा सहभागिता जनाउन कोटा दिएपनि एनजीओहरु रकम असुलेर अनधिकृत मानिसहरूलाई पठाएको आशङ्का गरिएको छ । छानबिन समितिका एक जना सदस्य भन्छन्, ‘एनजिओको सिफारिसमा केही मानिसहरू गएर उतै बसेको सूचना पाएका छौँ, हामी अनुसन्धान गर्दैछौं ।’







Facebook Comments