काठमाडौँ । नेपाली कांग्रेस बागमती संसदीय दलको नेता पदका लागि मुख्यमन्त्री बहादुरसिंह लामाले पनि उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार मात्र अविश्वास प्रस्तावमा मतदान गर्दै संसदीय दलको नेताबाट हटाइएका उनले पुन पदमा आउन बुधबार सुरु निर्वाचन प्रक्रियामा सहभागी भएका हुन्।  प्रदेश सभा भवन परिसरमा जारी चुनावी प्रक्रियामा सामेल हुँदै मुख्यमन्त्री लामाले सांसद तीर्थ लामाको प्रस्ताव तथा अर्थमन्त्रीसमेत रहेका कुन्दन काफ्लेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।

शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा हिजो मङ्गलबार अविश्वासको प्रस्तावमा बहुमत आएपछि दलको नेताका लागि आज निर्वाचन हुन लागेको हो। जसमा ३७ सांसदमध्ये २२ सांसदले अविश्वासको प्रस्तावमा मत जाहेर गरेर दलको नेताबाट पदमुक्त भएका लामाले पुनः संसदीय दलको नेताका लागि निर्वाचनमा हुन लागेका हुन्।

यो सँगै कांग्रेस बागमती संसदीय दलका नेताका लागि बानिया र लामाबीच निर्वाचन हुने भएको छ। कुल ३७ सांसद रहेको बागमतीमा २२ सांसद बानियाको पक्षमा छन् भने १५ सांसद लामाको पक्षमा रहेका छन्। दलको नेताका लागि बहुमत पुर्याउन उनलाई सांसदको मत आवश्यक पर्छ। आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म दलको नेताका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ।