
काठमाडौँ । रुसमा शक्तिशाली भूकम्पपछि जापानमा सुनामी आएको छ। जापानको स्थानीय प्रसारक एनएचकेका अनुसार सुनामीका छाल होक्काइदो प्रान्तको उत्तरी भागमा आइपुगेको हो।
छाल झन्डै १२ इन्चसम्म रहेको अनुमान गरिएको छ।
सुनामीले होक्काइदोको उत्तरपूर्वी भागमा अवस्थित बन्दरगाह सहर नेमुरोलाई प्रहार गरेको छ। जापानी अधिकारीहरूले पहिले नै सुनामीको छाल धेरै उच्च हुन सक्ने चेतावनी जारी गरेका थिए।
जापानी प्रधानमन्त्री सिगेरु इसिबाले अधिकारीहरूले "परिस्थितिको मूल्यांकन गरिरहेको" बताएका छन्। उनले उद्धारमा 'मानिसहरूलाई प्राथमिकता दिइने' बताएका छन्।
अहिलेसम्म कुनै हताहतको पुष्टि भएको छैन। प्रधानमन्त्री इसिबाले नागरिकहरूलाई तटबाट टाढा रहन र उच्च क्षेत्रमा सर्न अपिल गरेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार दिएको जानकारीअनुसार रुसको कामचट्का प्रायद्वीपनजिकै ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार बिहान ८:२५ बजे भूकम्प गएको बताएको छ। यसपछि जापानदेखि अमेरिकासम्म सुनामीको चेतावनी जारी गरिएको थियो।







Facebook Comments