
जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिका ११ का भूपू वडाध्यक्ष कमलदेव यादवका बुवा फनिलाल यादवको हत्या गरिएको छ । मृतक यादव ८० वर्षका वयोवृद्ध थिए । घरमै सुतिरहेको बेला मंगलवार राति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले उनको हत्या गरेको बताइएको छ ।
फनिलाल आज बिहान अबेरसम्म नउठेपछि परिवारजनले बोलाउन घरमा पुगेका उनी घाइते अवस्थामा भेटिएका थिए । तत्काल उनलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकका जेठा छोरा कपिलदेव यादवले बुवामाथि रातिमा कसले धारिलो हतियार प्रहार गरेको कुरा थाहा नभएको बताए । उनले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । फनिलालको हत्याविरुद्ध स्थानीय आन्दोलित बनेका छन् । उनीहरू धनगढीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरे । प्रदर्शनका क्रममा करिब एक घण्टा सडक अवरुद्ध भएको थियो ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले घटना कसले घटाएको विषयमा केही खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।







Facebook Comments