हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताका लागि दुई वर्ष सात महिनापछि फेरि इन्द्र बहादुर बानियाँ र बहादुरसिं लामा आमनेसामने भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री लामाले मंगलबार दल नेताको हैसियत गुमाएपछि आज नेता चयनको लागि मतदान हुँदैछ ।

नेताको लागि मुख्यमन्त्री लामा र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य बानियाँले उम्मेदवारी दिएका छन् । गत साउन ९ गते लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसकै प्रक्रिया स्वरूप मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो । यस्तै विपक्षमा २२ मत परेसँगै लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

यसअघि २०७९ पुसमा भएको दल नेताको निर्वाचनमा बानियाँलाई हराउँदै लामा विजयी भएका थिए । लामाले २१ मत र बानियाँले १६ मत प्राप्त गरेका थिए ।  निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली  ११:३० बजे प्रकाशित गरिनेछ ।

उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान आजै दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुने कार्यतालिका छ । संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय,हेटौँडामा हुनेछ ।

यसैबीच मुख्यमन्त्री बहादुरसिं लामाले आजै तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले नेपाली कांग्रेसबाट राजीनामा दिएका पाँच जना मन्त्रीहरूमध्ये तीन वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेको हुन् । गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, प्रदेश सभा सदस्य माया श्रेष्ठ र गिता गुरुङलाई पनि मन्त्री नियुक्त गरिएको छ । यद्यपि उनीहरूले कुन–कुन मन्त्रालय सम्हाल्ने भन्ने विषय भने औपचारिक रूपमा तोकिएको छैन । नवनियुक्त तीनै जना मन्त्रीहरूको सपथग्रहण समारोह आज नै सम्पन्न हुने तयारी गरिएको छ ।