काठमाडौँ । नेपालमा मनसुन सुरू भएको करिब डेढ महिना बितिसकेको छ। गत जेठको १५ गते रातीबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो। ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ। ५ सय बढी विपद्का घटना पनि भएका छन्।

जनधनको क्षति पनि ठूलो भएको छ। तर देशभरका कुनै पनि ठूला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली बताउँछन्। यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो। तर अहिलेसम्म पनि देशका ठूला नदीहरूमा बाढीले खतराको तह पार गर्न सकेको छैन।

आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरूमा खतराको तह भन्दा बढी बाढी नजाने उनको भनाइ छ। साना नदीहरूमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्ने उनले बताए। आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा आकस्मिक बाढी आउनसक्ने अनुमान रहेको बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदरमा करिब ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको बताए। हालका दिनहरूमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने बताए ।

जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार मनसुन आगामी तीन दिन सक्रिय हुनेछ। उनले रसुवाको भोटेकोशीमा मंगलवार राति आएको बाढी सामान्य रहेको बताए। बाढी सानो भए पनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो देखिएको र केही नोक्सान गर्ने भएकाले पनि नदी छेउमा सतर्कता अपनाउन आग्रह गरे।