काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा होटल रमादामा जारी छ। बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ । बैठकका लागि रास्वपा नेता र सांसदहरु मंगलबार नै भैरहवा पुगेका थिए ।

सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि नेताहरु दलको बैठकमा बसेका हुन् । संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा जारी छ ।

‘संसदीय दलको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, त्यसमा सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको, संसदमा पेश भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय हुनेछ’ रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने ।

परियारका अनुसार पार्टीका नेता र सांसदहरु आज–भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन् । संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरु पनि सहभागी हुने छन् । रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनेर उनीहरुको मनोभावना बुझ्ने, पार्टी संगठनको विषयमा जिल्ला नेताहरुसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको प्रमुख सचेतक परियारले जानकारी दिए ।

बैठकमा पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनको उम्मेदवारबारे भने छलफल नहुने परियारले बताए । पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिसकेकाले आवेदन दिने म्याद पूरा भइसकेपछि मात्रै उम्मेदवारबारे छलफल हुने उनको भनाइ छ । रुपन्देही क्षेत्रनम्बर ३ का आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ । गत आम निर्वाचनमा रास्वपा यो क्षेत्रमा समानुपातिकतर्फ १४ हजार बढी मतसहित तेस्रो ठूलो दल बनेको थियो ।