काठमाडौँ । भिजिट भिसामा कुवेत हिँडेका ४७ जना महिलाहरू साउन ८ मा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेसल एयरपोर्टबाट फर्काइए । नेपाल सरकारले दिनुपर्ने एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना नै उनीहरूलाई कुवेत पठाउन लागिएको सूचनापछि दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेर उनीहरूलाई नेपाल फिर्ता पठाएको थियो ।

फिर्ता भएकाहरूको सूचनाको आधारमा मानव बेचबिखन ब्युरोले उनीहरूलाई पठाउने गिरोहबारे अनुसन्धान सुरु गरेको छ । दिल्लीबाट फर्काइएका १९ जनाले सो गिरोहबारे जाहेरी दिएका छन् । काठमाडौँ विमानस्थलबाट भिजिट भिसामा कडाइ गरिएपछि दिल्ली हुँदै कुवेतमा पठाउने गिरोह सक्रिय भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका एसएसपी कृष्ण पङ्गेनीले बताए । उनले भने, ‘दिल्लीबाट फर्काइएकाहरूसँग जाहेरी लिएर गिरोहबारे अनुसन्धान गर्दै छौँ ।’

भिजिट भिसामा विदेश पठाएर रकम असुलेको घटनामा अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । अख्तियारका अधिकृतहरूले भट्टराईबाट एउटा डायरी जफत गरेका छन् । कागजात नपुगेकाहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराईले गिरोहसँग मिलेर लाखौँ असुलेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जेठ ७ देखी उनी अनुसन्धानको दायरामा छन् ।

बिचौलियाहरूले काँकडभिट्टा, रुपेडिया र सुनौली हुँदै महिलाहरूलाई दिल्लीमा लगेर एक ठाउँमा जम्मा गर्ने गरेका थिए ।
दिल्ली हुँदै कुवेत पठाउने समूहले एनओसी (नो अब्जेक्सन सर्टिफिकेट), पुलिस रिपोर्ट र भिसा पनि फर्जी बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । नेपाल सरकारले कुवेतमा महिलाहरूलाई वर्किङ भिसामा जाने अनुमति दिँदैन । तर, सो समूहले वर्किङ भिसा लगाएर त्यसलाई स्क्यान गरेर फर्जी भिजिट भिसामा रूपान्तरण गर्ने गरेको भेटिएको छ ।

बिचौलियाहरूले काँकडभिट्टा, रुपेडिया र सुनौली हुँदै महिलाहरूलाई दिल्लीमा लगेर एक ठाउँमा जम्मा गर्ने गरेका थिए । काठमाडौँबाट पठाउने र दिल्लीमा सङ्कलन गरेर विमानस्थलसम्म लैजाने समूहको बिचमा कनेक्सन देखिएको अनुसन्धानमा संलग्न ब्यूरोका एक जना अधिकृतले बताए ।

दिल्लीबाट दूतावासका कर्मचारीले रुपन्देहीमा ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएका ४७ जना परिवारको जिम्मामा घर फर्केका छन् । दिल्ली स्थित नेपाली दूतावासका कन्सुलर (एसएसपी) प्रकाश मल्ल नेतृत्वको टिमले उनीहरूलाई रुपन्देहीसम्म ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएको थियो । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘केही पीडितहरूलाई माइती नेपालले संरक्षण र परामर्श प्रदान गरिरहेको छ ।’

गृहमन्त्री रमेश लेखकले ती महिलाहरूलाई दिल्लीसम्म लैजाने गिरोहबारे अनुसन्धान गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका थिए । त्यसपछि ब्युरोले जाहेरी लिएर अनुसन्धान अघि बढाएको हो । आरोपीहरू पक्राउ नपरेको भन्दै ब्यूरोका एसएसपी पङ्गेनीले सो गिरोहका सदस्यहरूबारे सार्वजनिक गर्न चाहेनन् । उनले भने, ‘गिरोहका सदस्यहरू पहिचान गर्दैछौँ ।’ राताेपाटी