
काठमाण्डाैँ । रौतहटमा भारतीय नम्बरको एक स्कार्पियो गाडीबाट ठुलो परिमाणमा काचो सालको गोलिया काठ बरामद भएको छ।
रौतहटको राष्ट्रिय वन क्षेत्रबाट तस्करहरूले गोलिया काठ कटान गरी गाडीमा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा भारतीय नम्बरको स्कार्पियो गाडीबाट ठुलो परिमाणमा सालको काठ बरामद भएको हो। जङ्गलसहिया सव-डिभिजन र वन कार्यालयको संयुक्त गस्ती टोलीले कटहरिया नगरपालिका १, भसेडवा गाउँबाट उक्त गाडी नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
गस्ती टोलीको नेतृत्व वन अधिकृत विनोद जेठारको नेतृत्वमा खटिएको टोलीले गए राति करिब ८ बजे भारतको नम्बर प्लेट एम एच ०४ डी बी ६३५३ नम्बरको स्कार्पियो गाडीलाई रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले स्कार्पियो गाडीभित्र ४ थान काचो सालको गोलिया, करिब ४५ क्युफिट बरामद भएको बताए। बरामद काठको बजार मूल्य दुई लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ। हालसम्म फरार रहेका चालकको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको डिएफओ साहले बताए।
यसैबीच, डिभिजन वन कार्यालय रौतहट अन्तर्गत गैंडाटार सव-डिभिजन वन कार्यालयको टोलीले सालको चिरान काठ बरामद भएको छ।
बिहीबार राति गैंडाटार गाउँस्थित कालापानी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको घाटगद्दि गरिएको पश्चिम तर्फको वन क्षेत्रबाट तस्करीका लागि तयारी अवस्थामा राखिएको दुईवटा साइकलमा लोड गरिएको सालको चिरान काठ बरामद गरेको हो ।
यति बेला रौतहटको राष्ट्रिय एवं सामुदायिक वन क्षेत्रबाट व्यापक मात्रामा काठको तस्करी भइरहेको बताइएको छ। समय समयमा यति मात्रामा तस्करीको काठ बरामद हुनुले रौतहटको वन क्षेत्रबाट तस्करी भइरहेको पुष्टि भएको छ।







Facebook Comments