वीर अस्पतालभर्ना भएका मेयर भट्टराईको अनसन नतोड्ने अडान
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत् दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तिर्थराज भट्टराई अहिले वीर अस्पतालमा उपचाररत छन् । उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउनेजस्ता समस्या देखिएको छ । हिजो राति साढे ११ बजे भट्टराईलाई अस्पताल भर्ना गरिएको थियो ।

गत साउन ११ गतेदेखि सात बुँदे माग राखेर माइतीघर मण्डलामा अनसन सुरू गरेका भट्टराईले माग पूरा गर्नुपर्ने तीन दिनको अल्टिमेटम दिएका थिए । तर, तीन दिनमा पनि माग पूरा नभएपछि हिजोबाट भने आमरण अनसन सुरु गरेका थिए ।

आमरण अनसन सुरू भएपछि उनको स्वास्थ्यमा समस्या आएको हो । हिजो राति अस्पताल भर्ना भएका भट्टराईले बिहानैबाट डक्टरहरुलाई डिस्चार्ज गरिदिन माग गरेका थिए । आफू माइतीघरमै आमरण अनसन बस्ने भन्ने माग डक्टरहरूसँग गरे पनि उनलाई डाक्टरहरूले डिस्चार्ज दिन मानेनन् । स्वास्थ्यमा गम्भीर समस्या देखापर्न सक्ने भन्दै डाक्टरले डिस्चार्ज दिन नमानेपछि भट्टराई समर्थकहरूले अस्पतालमै विरोध जनाएका थिए । अहिले भने स्वाथ्यको जिम्मा आफैँले लिने गरी कागज गरिसकिएको भट्टराईका एक सहयोगीले बताए । उनले भने, ‘अहिले कागज भइसकेको छ । उहाँलाई हाम्रै जिम्मामा माइतीघर लैजाने भन्ने कागज भइसकेको छ ।’

केही समय पहिला मानवअधिकारकर्मीहरू पनि भट्टराईलाई भेट्न अस्पताल पुगेका थिए । अहिले स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि अस्पताल गएर भट्टराईलाई भेट्दैछन् । यदि स्वास्थ्यमन्त्री पौडेलले भट्टराईका मागहरु पूरा गर्ने प्रतिबद्धता जनाए भने अस्पतालबाटै पनि अनसन तोडिनसक्ने ती सहयोगीले बताए । उनले भने, ‘यति निचोडमा पुगिएन भने माइतीघमै अनिश्चितकालीन आमरण अनसनले निरन्तरता पाउँछ ।’