
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा निर्माणाधीन नयाँ सुविधा सम्पन्न आकस्मिक उपचार कक्षको निरीक्षण गरेका छन्।
सोही क्रममा उनले विभिन्न माग राखेर अनसनरत मेयर भट्टराईको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका छन्। भट्टराईको उपचारमा कुनै कमी हुन नदिन वीर अस्पतालका प्रमुख, न्याम्सका उपकुलपति र ट्रमा सेन्टरका निर्देशकलाई निर्देशन दिएका छन् ।
नेपालकै सबैभन्दा पुरानो अस्पतालको रूपमा रहेको वीर अस्पतालमा हाल सञ्चालित ४० शय्याको आकस्मिक कक्षलाई स्तरोन्नति गरी एकैपटक ७२ जना बिरामीलाई उपचार गर्न मिल्ने गरी नयाँ कक्ष निर्माण भइरहेको छ।
निरीक्षणका क्रममा मन्त्री पौडेलले निर्माण कार्यको प्रगतिबारे जानकारी लिँदै यसले बिरामीलाई थप सहज र प्रभावकारी सेवा दिन मद्दत पुग्ने विश्वास व्यक्त गरे। अवलोकन भ्रमणका क्रममा मन्त्री पौडेलले आकस्मिक कक्षमा रहेका अन्य बिरामीहरूसँग पनि अस्पतालले प्रदान गरिरहेको सेवाबारे सोधपुछ गरेका थिए। स्वास्थ्य मन्त्री भएपछि जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आक्रामक रूपमा काम गरिरहेका मन्त्री पौडेलले अस्पतालको सेवा प्रवाहलाई थप सुधार्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।




_eDRH6Bm5KD.jpg)


Facebook Comments