काठमाण्डाैँ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले असनरत खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेका छन् । बुधबारदेखि आमरण असन बसेका मेयर भट्टराइको उपचारको कुनै कसर नराख्न मन्त्री पौडेलले अस्पतालका डाक्टरहरुलाई निर्देशन दिएको हाे । 
विभिन्न ७ बुदे माग राख्दै मेयर भट्टराईले आइतबारदेखि सत्यागहमा बसेका थिए । तीन दिनसम्म सरकारले आफ्ना मागको कुनै वास्ता नगरेको भन्दै मेयर भट्टराई बुधबारदेखि आमरण असनमा बसेका हुन् । असनमा बसेका मेयरको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रेपछि वीर अस्पतालमा उपचार भईरहेको छ । उनले विशेष गरेर स्थानीय तहका कच्चा पदार्थलाई सहज ढंगले प्रयोग गर्न पाउनुपर्ने माग राखेर आमरण अनसनमा बसेका हुन्।
जलवायु परिवर्तनको असरलाई जोगाउन ठोस कानुन बनाउनुपर्ने र धेरै प्रदूषण गर्नेसँग क्षतिपूर्ति लिने, बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून निर्माण गरिदिनुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानून बनाउन पाउनुपर्ने लगायत माग छन्।

त्यस्तै जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर, उद्योगलाई कारबाही गर्नुपर्ने, वन र उद्योग मन्त्रालय माताहतका सबै निकायले फर्निचर खरिद गर्दा बाँस, काठ, राडी–पाखी आदि प्रयोग गर्नुपर्ने, वातावरण र पर्यावरण मैत्री संरचना बनाउन नीतिगत निर्णय गर्नुपर्ने, काठमाडौंबाट खोटाङसम्म जाने सडकका अलपत्र पुल, बाटो र त्यससँग सम्बन्धित संरचना बनाउनुपर्ने, पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाइँ सराईको दर बढेकाले व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका छन्।
मेयर भट्टराईले यी माग पूरा नभएसम्म आमरण अनसन नतोड्ने अडान लिएका छन्। आफ्ना नगरबासीका लागि आफूले ज्यानै त्याग्नु परे पनि पछि नहट्ने उनको भनाइ छ।