काठमाडौँ । नेपाली कांग्रेसका तीन भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल महिला संघका तदर्थ समितिको म्याद अन्तिम पटकका लागि थप्ने निर्णय गत असार १६ गतेदेखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो ।

समितिको निर्णय नम्बर ४ को २ मा लेखिएको थियो, ‘नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले तोकिएको मितिभित्र महाधिवेशन गर्न सकेका छैनन् । २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने भनी अन्तिम समय दिइएकोमा यस बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ संघहरूकोे हकमा कार्यतालिकामा तोकिएको मितिसम्म समयावधि थप गर्ने ।’

निर्णयमा यस्तो भनिए पनि तीन भ्रातृसंस्थाको हकमा एकै महिनामा महाधिवेशनको मिति परेकाले केन्द्रीय कार्यालयले मिलाएर एक अर्काको महाधिवेशन नजुध्नेगरी तालिका सार्वजनिक गर्ने भनिएको थियो ।

महामन्त्री गगन थापाले अन्तिम पटकका लागि महाधिवेशन गर्नेगरी म्याद थप्ने निर्णय भए पनि तीन भ्रातृसंस्थाको हकमा एकै महिनामा महाधिवेशन गर्ने प्रस्ताव गरेकाले केन्द्रीय कार्यालयले मिलाएर कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए । ‘अन्तिम पटकका लागि म्याद थप्ने निर्णय भएको छ । नेविसंघ, महिला संघ र तरुण दलको महाधिवेशन एउटै महिनामा प्रस्ताव भएकाले केन्द्रीय कार्यालयले समय मिलाएर नजुध्नेगरी मिति सार्वजनिक गर्छ,’ महामन्त्री थापाले भनेका थिए, ‘कार्यालयले मिलाउँदै होला ।

तरुण दलको महाधिवेशन आगामी मंसिर २५ देखि २७ गतेसम्म गर्ने निर्णय केन्द्रीय कार्यसमितिको असार १८ गतेको बैठकले गरेको थियो । बैठकको निर्णय भनेर केन्द्रीय कार्यालयले विज्ञप्तिसमेत निकालेको थियो ।

नेविसंघको महाधिवेशनका लागि कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोर नेतृत्वको महाधिवेशन निर्देशन समितिले आगामी मंसिर १५ देखि १७ गतेसम्मको मिति पार्टीमा प्रस्ताव गरेको हो । नेविसंघको अब हुने १२ औँ महाधिवेशन हो ।

त्यस्तै महिला संघको महाधिवेशनका लागि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत नेतृत्वको महाधिवेशन निर्देशन समितिले आगामी मंसिर २९ गतेदेखि पुस २ गतेसम्मको मिति पार्टीमा प्रस्ताव गरेको छ ।

तर, त्यसबारे केन्द्रीय कार्यालयले कुनै तयारी गरेको छैन । ‘महाधिवेशन निर्देशन समितिले मिति प्रस्ताव गरेको छ । मिलाउनेबारे कुनै कुराकानी भएको छैन,’ कांग्रेस केन्द्रीय कार्यालयका एक कर्मचारीले भने ।

नेविसंघ महाधिवेशन निर्देशन समिति सदस्य कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले मितिबारे केही टुंगो नलागेको बताइन् । उनले निर्देशन समितिलाई महाधिवेशन गर्नेगरी सम्पूर्ण जिम्मेवारीसहितको टीओआर दिने भनिए पनि अहिलेसम्म पार्टीले केही पनि नदिएको बताइन् ।

महाधिवेशन तयारी र व्यवस्थापनमा सहजीकरणका लागि पार्टीले सम्बन्धित संघको मौजुदा तदर्थ समितिका अध्यक्षसहित महाधिवेशन व्यवस्थापन समिति बनाउने निर्णय पनि केन्द्रीय समितिले गरेको थियो । त्यो काम पनि पार्टीले अझै गरेको छैन । महामन्त्री थापा यसबारे आन्तरिक तयारी भइरहेको बताउँछन् ।