काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कार्यकक्ष बाहिरकाे सूचनामा लेखिएको छ, ‘कृपया मोवाइल फोन लकरमा राखेरमात्र भित्र प्रवेश गर्न अनुरोध गरिन्छ ।’

उच्च पदस्थलाई भेट्न जाँदा मोबाइल बाहिरै छोड्नुपर्ने अभ्यास नेपालमा सामान्यतया छैनन् । प्रधानमन्त्रीदेखि राष्ट्रपतिलाई समेत मोबाइलसहित नै कार्यकक्षमा भेट्न सकिन्छ । सिंहदरबारभित्रै अरु थुप्रै मन्त्रालयहरू छन् । अन्य मन्त्रालयमा कुनै पनि मन्त्रीकाे कार्यकक्षमा प्रवेश गर्दा माेबाइल लिएर जान पाइन्छ । 

मन्त्री भण्डारीले जो आउँदा पनि मोबाइलबाट कुराकानीको अडियो रेकर्ड गर्न थाले । फोनमा सुरक्षा भएन, कसैको विश्वास लागेन । आफू आउनुअघि पनि यस्तै सूचना रहेको उनले बताए । तर, यसअघि मन्त्रालय जादाँ त्यस्तो सूचना टाँसिएको थिएन ।

उद्योगमन्त्री भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टले भने, ‘सुरूदेखि नै त्यस्तो सूचना टाँसिएको थियो । हाम्रो मन्त्रीज्यू आएपछि केही खुकुलो बनाएका थियौं । त्यसपछि एक-दुईवटा समूहगत भेटघाटमा आएका व्यक्तिले आन्तरिक छलफलको पनि भिडिओ बनाउने गरेपछि एक सातादेखि कडाइ गरिएको हो ।’

केहि दिनअघि मात्रै तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाटै राजीनामा दिनु परेको थियो । उद्योग मन्त्रालयमा पनि उद्योगी व्यवसायी र व्यापारीहरू मन्त्रीलाई भेट्न आइराख्छन् ।