बुहारीलाई विस्थापित गर्दै ससुरा बने पार्टी अध्यक्ष
काठमाण्डाैँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टि संरक्षक रेशमका बुवा लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ। काठमाडौंको बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले प्रतिनिधि सभा सदस्यसमेत रहेका लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

‘हामीले धेरै मन्थन गरेर आठौं दिनमा अध्यक्ष परिवर्तन गर्ने निष्कर्षमा पुगेका हौं,’ लालवीरले पत्रकारहरूसँग भने, ‘सम्पूर्ण संघ र प्रदेशका सांसदहरूलाई बन्दीको निकासका लागि धन्यवाद दिन चाहन्छु। मैले अध्यक्षको जिम्मेवारी पाइसकेपछि विधि र पद्धतीका आधारमा नाउपालाई अघि बढाउनेछु।’

उनले अध्यक्ष रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म बैठक नराखेकोसमेत बताए। श्रेष्ठलाई अझै पनि सहमति र सहकार्यका लागि आउन उनको आग्रह छ। उनले कात्तिक १७ गते रूपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेकोले पार्टीले त्यहाँ उम्मेदवारी दिन पनि यो निकासको प्रबन्ध गरिएको दाबी गरेका छन्।

‘उहाँले जति पनि अभिव्यक्ति दिनुभएको छ, त्यसलाई अहिले पनि हामी भन्दैछौं, उहाँ कम्तिमा पनि बैठकमा उपस्थित भइदिनुस्, उहाँले पार्टीका सदस्यहरूलाई लगाएको आरोप सामना गर्न हामी तयार छौं,’ उनले भने, ‘यो निकास लागि गरेको प्रबन्ध हो।’ उनले श्रेष्ठका बारेमा धेरै कुरा भन्न आफूले नचाहेको पनि बताए।

गत निर्वाचनमा लालवीर बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। निर्वाचित भएको केही समयमै उनी नाउपामा प्रवेश गरेका थिए। उनी नाउपाका संस्थापक सदस्य (२१ जना) भित्र भने पर्दैनन्।

२०७८ सालमा रेशम चौधरी जेलभित्र भएका बेला नाउपा गठन भएको थियो। रेशमले पत्नी रञ्जिताको अध्यक्षतामा निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए। टीकापुर प्रकरणमा बाँकी कैद माफी पाएर जेलबाट रिहा भएपछि २०८० पुसमा पहिलो महाधिवेशन गरेर रेशम पार्टी अध्यक्ष बनेका थिए। तर निर्वाचन आयोगले वैधता नदिएपछि नाउपा पुरानै कार्यसमितिमा फर्केको थियो। रेशम निर्वाचन आयोगको उक्त निर्णयविरूद्ध सर्वोच्च अदालत गएका छन्, मुद्दा विचाराधीन छ। निर्वाचन आयोगमा नयाँ कमिटी अद्यावधिक हुन कि सर्वोच्चको मुद्दा फिर्ता लिनुपर्ने कि मुद्दा टुंगो लाग्नुपर्ने नाउपाकै केन्द्रीय सदस्य बताउँछन्।

रञ्जिता पक्ष भने निर्वाचन आयोगले लालवीर नेतृत्वको नाउपा कार्यसमितिलाई वैधता नदिने विश्वासमा छ । यसअघि नाउपा अध्यक्ष संरक्षकसमेत रहेका रेशमको पत्नीसमेत रहेकी प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ थिइन्।

पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल अडिओ प्रकरणमा अध्यक्ष श्रेष्ठ मुछिएकी थिइन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएर स्पष्टीकरणसमेत सोधेको थियो। विवादमा परेपछि अध्यक्ष रञ्जिताले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष दिएकी थिइन्। श्रेष्ठले आफूलाई अवैध राष्ट्रिय भेलाले अध्यक्षबाट हटाउन नसक्ने दाबी गर्दै आएकी छन्। सेताेपाटी