जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा बढ्दो पानी संकट समाधान गर्नका लागि दीर्घकालीन रूपमा पानी पुनःभरण योजना अत्यावश्यक रहेको बताएका छन्। आज लहानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जमिनबाट लगातार पानी झिक्नु तर त्यसलाई पुनःभरण गर्ने वातावरण नहुँदा भूमिगत स्रोत रित्तिँदै गएको स्पष्ट पारे।

मुख्यमन्त्री सिंहले जमिनबाट डिपबोरिङमार्फत पानी निकाल्नु मात्रै समाधान नभएको बताए। उनले भने, "जहाँ ठूलो डिपबोरिङ गाडिन्छ, त्यस वरपरका बस्तीहरूमा पानी सुक्ने समस्या देखिन थालेको छ। पानी जमिनसम्म पुग्न नपाउँदा भूमिगत स्रोतहरू रित्तिँदै गएका छन्।" उनले वर्षाको पानीलाई जमिनले सोस्ने वातावरण सिर्जना गर्न र 'रेनवाटर हार्वेस्टिङ' (वर्षाको पानी सङ्कलन प्रणाली) लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री सिंहका अनुसार, अहिलेका सिमेन्टेड सडक, ढल र नालाहरूका कारण वर्षाको पानी सिधै खोलामा पुग्छ र जमिनले पानी सोस्न पाउँदैन। यसले गर्दा भूमिगत जल पुनःभरण प्रक्रिया अवरुद्ध भएको छ।

मुख्यमन्त्री सिंहले चुरे संरक्षणलाई पनि पानी पुनःभरणसँग प्रत्यक्ष रूपमा जोडेर हेर्नुपर्ने बताए। उनले भने, "चुरे क्षेत्र तराईका लागि पानीको मुटु हो। त्यहाँको वनस्पतिले पानीलाई रोक्छ र विस्तारै जमिनमा पठाउँछ। तर अहिलेको अनियन्त्रित दोहन र फँडानीले त्यो प्रक्रिया समाप्त पारिरहेको छ।"

उनले स्थानीय तहहरूलाई घरको नक्सापास गर्दा 'रेनवाटर हार्वेस्टिङ' अनिवार्य बनाउन, रिचार्ज पोखरी निर्माण गर्न र सिमसार क्षेत्रको संरक्षण गर्न आग्रह गरे। यी कामहरूलाई अभियानकै रूपमा अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ छ।

यस वर्ष मधेसलाई सुक्खा प्रदेश घोषणा गरिसकिएको छ र ५० प्रतिशतभन्दा कम रोपाईं भएको छ। भूमिगत जलको सतह घट्दै गएको र जमिनको क्षयीकरणले भविष्यमा मरुभूमिकरणको खतरासमेत बढेको मुख्यमन्त्रीले बताए ।