पाँचथर । पाँचथर फिदिममा श्रीमान्‌ले कोदालोको पासो प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ ।

जिल्लाको फालेलुङ-७ घर भएका २७ वर्षीय महेन्द्र तामाङले पारिवारिक विवादमा २२ वर्षीय अनु राईलाई बिहीबार राति ८ बजे कोदालोको पासोले प्रहार गरी गम्भीर घाइते बनाएका थिए । पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बीएन्डसी अस्पतालमा रेफर गरिएकामा शुक्रबार बिहान उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता रुपेश तामाङले जानकारी दिए ।

तामाङका अनुसार उनीहरु बीच घरायसी विवाद र मनमुटाव रहेको खुलेको छ । महेन्द्रले ससुराली घर नजिकै कोदालोको पासो प्रहार गरेका हुन् ।

श्रीमतीलाई कोदालो प्रहार गरेपछि फरार भएका तामाङलाई फिदिम नगरपालिका-६ सिवास्थित गोले गाउँमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु भएको र अदालत हाजिर गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।