वीरगञ्ज । नेपालमा झुटा विवरण प्रस्तुत गर्दै नागरिकता लिने, अवैध सम्पत्ति आर्जन गर्ने र सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) जस्ता गम्भीर अपराधमा संलग्न एक विदेशी नागरिक विरुद्ध सरकारले ठूलो कारबाही अघि बढाएको छ ।

भारत राजस्थान स्थायी ठेगाना भई हाल वीरगञ्ज–१० बसोबास गर्दै आएका निरञ्जनकुमार अग्रवालविरुद्ध ५१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको अवैध सम्पत्ति प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मनि लन्डरिङ मुद्दा दायर गरेको छ।

विभागको विस्तृत अनुसन्धानमा अग्रवालले जन्मको आधारमा झुटा विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेको पुष्टि भएको छ । यतिमात्र होइन उनले आफ्नी श्रीमती रितु देवीलाई वैवाहिक अंगीकृत नागरिकता दिलाई उनका नाममा समेत कम्पनी दर्ता, बैंक खाता खोल्ने, जग्गा किन्नेजस्ता कार्य गरी गैरकानूनी ढंगबाट सम्पत्ति आर्जन गरेको आरोप छ ।

अग्रवालले विभिन्न साझेदारहरूमार्फत कम्पनी, शेयर, बैंक कारोबार तथा जग्गा खरिद गर्दै अवैध सम्पत्ति शुद्धीकरण गरेको देखिएपछि विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सजायको मागसहित सम्पत्ति जफत गर्न पर्सा जिल्ला अदालतमा गत  बुधबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्र दर्ता गरेको हो।

यही अभियोगपत्रमा अपराध पीडित संरक्षण ऐन, २०७५ को आधारमा क्षतिपूर्ति निर्धारण गरी राहत कोषमा जम्मा गराउनुपर्ने माग पनि उल्लेख छ। साथै श्रीमती रितु देवी, युनेश वली र सविता देवीलाई देवानी दायित्व मात्र रहने गरी संलग्न गराइएको छ।

निरञ्जन अग्रवाल नेपाल प्रवेशको मूल शुरूआत वीरगञ्जका प्रतिष्ठित किराना व्यवसायी अजय अग्रवाल (हाल स्वर्गीय) मार्फत भएको थियो। अजय अग्रवालको "आदर्श किराना"मा काम गर्न उनलाई भारत राजस्थानबाट बोलाइएको थियो। तर छोटो समयमै व्यावसायिक र पारिवारिक विश्वासमा खलल पुर्‍याउँदै उनले अजय अग्रवालकै परिवारमा विग्रह सृजना गरी हालीमुहाली जमाए ।

पारिवारिक विग्रहको कारण अजय अग्रवालको वीरगञ्जबाट उठिबास भयो, र निरञ्जनकुमार अग्रवालले २०६३ सालमा झुटा विवरणमा नेपाली नागरिकता लिँदै लगत्तै जग्गा कारोबारमा हात हाल्न थाले ।

छोटो अवधिमै उनले गुटका, सुर्ती, चुइँगमको कारोबारी नेटवर्क मार्फत अपार मुनाफा कमाए । उनीसँग जोडिएका व्यापारिक प्रतिष्ठानहरूमा राजस्व अनुसन्धान विभाग र प्रहरीले पटकपटक छापा हान्दा पनि राजनीतिक संरक्षणका भरमा जोगिँदै आएका थिए ।

झुटो विवरण पेश गरी नागरिकता लिएको अभियोगमा पर्साका तत्कालीन प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले निरञ्जन अग्रवाललाई हिरासतमा राखेर पर्सा जिल्ला अदालतमा मुद्दा दायर गर्दा धरौटीमा रिहा भएका थिए । हाल उनको नागरिकताका सम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।