काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् ।

लामालाई शुक्रबार निवासमा बोलाएर देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्न र लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्विकार गर्न निर्देशन दिएका थिए । देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएका हुन् ।

‘पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानूस्,’ लामालाई सभापति देउवाले दिएको निर्देशन उद्धृत गर्दै एक नेताले भने । देउवासँगको भेटपछि लामाले निकट नेताहरूसँग छलफल गरेर निर्णय लिने मनस्थिति बनाएका छन् ।