
ललितपुर । ललितपुरको पाटन विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पाटन अस्पताललाई स्तरोन्नति गरिने भएको छ। हाल ६०० शय्यामा सञ्चालित उक्त अस्पताललाई एक हजार २०० शय्यामा सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सम्बन्धी रायसुझाव सङ्कलन गर्ने काम भइरहेको छ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानको अध्यक्षतामा आज बसेको बैठकले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार वातावरणीय प्रभावको हिसाबले सम्पन्न गर्नुपर्ने सुझाव दिएको छ। बैठकमा सहसचिव प्रधानले पाटन अस्पतालको महत्त्व दिन प्रतिदिन बढ्दै गएकाले यसलाई सबै हिसाबले समयमै सम्पन्न गर्न लाग्नुपर्ने बताए।
ललितपुर महानगरपालिका-५ मा ५२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले हाल ६०० शय्या मार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ। मन्त्रालयका उपसचिव एवं रायसुझाव समितिका सदस्यसचिव रमेशबहादुर बस्नेतले आधुनिक एवं वातावरणमैत्री संरचना निर्माणलाई प्रतिवेदनले उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गरे।
पाटन विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा पारसकुमार आचार्यले बिरामीको बढ्दो चाप हेरेर अस्पतालको क्षमता बढाउन लागिएको बताए। अस्पतालले हाल दैनिक दुई हजार बिरामीलाई ओपिडी र ६०० बिरामीलाई भर्ना गरेर उपचार गर्दै आइरहेको छ। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गरिरहेको नेपाल रुलर एन्ड एडभान्समेन्ट कमिटी प्रालि (एनआरएसी) का प्रमुख डा. ज्योतिप्रसाद गजुरेलले डबल बेसमेन्टसहित आठतले अत्याधुनिक अस्पताल वातावरणमैत्री हुने बताए।
उक्त अस्पतालको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, वातावरणमैत्री संरचना लगायत क्षेत्रमा अध्ययन गरिएको थियो। करिब १० अर्ब लागतमा बन्न लागेको नयाँ अस्पताल भवनमा भविष्यमा सबै किसिमका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ।




_eDRH6Bm5KD.jpg)


Facebook Comments