काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र देखा परेका असमझदारी र मतभेदले संगठनमा विभाजन ल्याउने सम्भावना नरहेको बताएका छन् ।

पार्टी केन्द्री कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरद्वन्द्वलाई सञ्चार माध्यम र केही व्यक्तिहरूले अतिरञ्जित गरेर प्रस्तुत गरिरहेको दाबी गरे ।

‘पार्टीभित्र उत्पन्न हुने सामान्य मतभेदलाई व्यवस्थापन गर्दै अघि बढ्ने हाम्रो अभ्यास हो’, पुनले भने, ‘यस्ता विषयहरू बाहिर जति हल्ला गरिए पनि, त्यसले पार्टी विभाजनसम्म पुर्‍याउँछ भन्ने भ्रम साँचो होइन, अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टीलाई थप एकताबद्ध गर्दै लैजानेछौँ ।’

उनले विचारमा समानता भएका अन्य दलहरूसँग भविष्यमा एकता प्रयास भइरहेको बताए ।  पुनका अनुसार, नेकपा एकीकृत समाजवादी, नेकपा लगायतका दलहरूसँग पार्टी एकताको विषयमा निरन्तर छलफल र संवाद चलिरहेको छ।

पुनले पार्टीले औपचारिक एजेन्डाका रूपमा एकताको विषयलाई अघि सारेको बताए ।