
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीले गरेका निर्णयअनुसार परिचालित हुन जनसंगठनहरूलाई निर्देशन दिएका छन् ।
शनिबार साँझ बालुवाटारमा जनसंगठन संयन्त्रको बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा संस्थागत निर्णय भइसकेकाले भण्डारीलाई पूर्वराष्ट्रपतिकै मर्यादामा सम्मान गर्नुपर्ने दोहोर्याएको बैठकमा सहभागी एक नेताले बताए ।‘निर्णय भनेको निर्णय हो । अब दायाबायाँ नगरी त्यसको कार्यान्वयनका लागि एकतावद्ध भएर जानुपर्छ र हाम्रो सम्पूर्ण ध्यान मिसन ८४ मा हुनुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
जनसंगठनहरूमा गैरपार्टी सदस्यलाई राखेर जानुपर्नेमा ओलीको जोड थियो । बालुवाटार बैठकबारे मानवाधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले पनि सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । रिजालले लेखेका छन्, ‘अध्यक्ष कमरेडले भन्नुभयो( कुन व्यक्तिले के भन्दछ भन्ने आधारमा होइन, पार्टीले संस्थागत रूपमा के निर्णय गर्दछ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ ।’
संयन्त्रका संयोजक भानुभक्त ढकालले एकताबद्ध र सुदृढ पार्टी बनाउन पार्टीको विधान, विधि र अनुशासन अनुरूप नेता(कार्यकर्ता र संगठन चल्नुपर्ने धारणा राखेका थिए । २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा विधान महाधिवेशनका सन्दर्भमा हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय स्पष्ट गराउँदै कार्यान्वयनमा एकरुप बुझाइ कायम गराएको रिजालले बताएका छन् ।







Facebook Comments