विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसमा युवाहरुलाई आबद्ध गराए लोकतन्त्र बलियो हुने बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर-४ वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा उनले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउन सुझाव दिए ।

प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेता डा कोइरालाले ‘लोकतन्त्रको पर्यायवाची नै कांग्रेस भएकाले लोकतन्त्र कमजोर भएमा लोकतन्त्र र देश कमजोर हुने धारणा राखे ।

उनले भने, “लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिकाबारे युवामा जनचेतना जागृत गराउनु आजको आवश्यकता हो ।”

नेता डा कोइरालाले जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने बताउँदै अन्य पार्टीहरूसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलको नेता भएपछि अन्य दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसित आफूले भेटघाट एवं छलफल गरेको बताए ।

सो अवसरमा ७२ वर्ष उमेर पार गरेका ज्येष्ठ क्रियाशील सदस्यहरु सुरेश तिम्सिना, सीयाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, नखबहादुर खड्का, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो ।