
काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराई र सरकाबीचको वार्ता सहमतिनजिक पुगेको छ । सरकार मेयरका सातबुँदे माग सम्बोधन गर्न तयार भएपछि वार्ता सहमतिनजिक पुगेको हो ।
मेयरको तर्फबाट वार्ता समितिका सदस्य एवं दिक्तेल रूपाकोट मझुवागढी–१२ का वडाध्यक्ष दानबहादुर राईका अनुसार, आज बिहान सरकारसँग भएको वार्ता निष्कर्षनजिक पुगेको हो । “हामी सहमति नजिक छौँ । आजै सहमति गरेर टुंग्याउनेतिर लागिरहेका छौँ,” उनले भने ।
यसअघि, दुई पक्षबीच भएका पटकपटकका वार्ता निष्कर्षविहीन बनेका थिए । मेयर भट्टराईले साउन ११ गतेदेखि तीनदिने सत्याग्रह सुरु गरेका थिए । त्यसपछि बुधबार (साउन १४)देखि माइतीघरमा अनिश्चितकालीन आमरण अनशन थालेका थिए । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि बुधबारै राति करिब १० बजे प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो ।
मेयर भट्टराईले जैविक विविधता, रैथाने संस्कृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, बाँस प्रवर्द्धन, गिट्टी, क्रसर नियमन, जंगली जनावर नियन्त्रणलगायत सातबुँदे माग राखेका छन् ।
०७९ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।







Facebook Comments