काठमाडौँ । नारायणगढ–बुटवल सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने म्याद अन्तिम पटकका लागि १ वर्ष थप भएको छ । आयोजनाका अनुसार अन्तिम पटकका लागि थपिएको म्याद ९ साउन २०८३ कायम भएको छ । यही म्यादमा आयोजनाको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने छ ।

‘यो सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत रहेकाले यो अवधिमा आयोजनाको सम्पूर्ण कार्य सम्पन्न हुने विश्वास दिलाउन चाहन्छौं,’ आयोजनाका एक अधिकारीले भने ।नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगे पनि काम सुस्त गतिमा अगाडि बढ्दा सरकारको समेत चर्को आलोचना हुँदै आएको छ ।

कुल ११४.५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्र भएसँगै यात्रा सहज भइसकेको आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रको १३ किलोमिटर सडकमा भने अहिले पनि सास्ती छ । खासगरी पानी परेको समयमा सवारीसाधन चिप्लिँदा यात्रा प्रभावित हुने गरेको छ ।

आयोजनाका अनुसार दाउन्ने खण्डसमेत यसै हिउँदसम्म सक्ने लक्ष्य छ । त्यसपछि यो खण्डको यात्रा सहज हुने अपेक्षा छ ।