
उदयपुर । शनिबार राति परेको भारी वर्षाले उदयपुरमा चार घर डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार त्रियुगा नगरपालिका–१३ पोर्ताहास्थित सदा बस्तीका चार घर डुबानमा परेका हुन् ।
आकाशबाट परेको पानीको निकास नहुँदा भुइँघर बनाएर बसोबास गरेका सदा बस्तीका चार घर डुबानमा परेको प्रजिअ लुइँटेलले जानकारी दिए । डुबानमा परेका चारै घरका परिवारलाई अहिले सुरक्षित स्थानमा सारिएको उनले बताए ।
त्रियुगा नगरपालिका–१३ का वडाध्यक्ष नवीनकुमार चौधरीका अनुसार पोर्ताहाका सुरजा सदा, कान्छा सदा, जक्कु सदा र एक नाम नखुलेको परिवारको घर डुबानमा परेको हो । उनले भने, 'चार परिवारका जम्मा ११ जना विस्थापित भएका छन्। सबैलाई सुरक्षित घरमा राखिएको छ।'
प्रजिअ लुइँटेलका अनुसार डुबानमा परेका चार घरबाहेक अन्य स्थानमा कुनै क्षति भएको छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार त्रियुगा गाईघाट जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तह पार गरेको छ। रातभर परेको अविरल वर्षाका कारण जल सतह बढेको र अझै बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान हुने होचा भूभागमा बस्नेहरुलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ।







Facebook Comments