
रुपन्देही ।रूपन्देहीको दानव नदीमा साेमबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता तीनैजना बालक मृत अवस्थामा भेटिएका छन्। सोमबार दिउँसो रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ अर्दौलीका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मुन्नु हरिजन बेपत्ता भएका थिए ।
घटनाबारे खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मेखराज जोशीको कमाण्डमा २५ जनाको टोली खटिएको थियो । सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेका अनुसार गणको टोली र स्थानीयबासीले संयुक्त रुपमा खोजतलास गर्दा सोमबार राजन यादवको शव फेला परेको थियो ।
त्यस्तै उमेश यादव र मुन्नु हरिजनको शव मंगलबार (आज) बिहान ७ बजे फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । मंगलबार बिहानैबाट सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक राम कुमार घिमिरेको तथा सशस्त्र प्रहरी बल नेपाल. नं. ४२ रिर्जभ गण हे.क्वा. शम्शेरगञ्ज बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह ठकुरीको कमाण्डमा खटिएको १३ जनाको गोताखोरसहितको टोलीले दुईजना बालकको शव फेला परेको हो ।







Facebook Comments