
काठमाडौं । १८ साउन, काठमाडौं। थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् ।
हाजिरीको विषयमा विवाद हुँदा कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइ दिएकी हुन् । त्यसपछि पुगेको प्रहरीले ताला खुलाएर कार्यबाहक सिंहलाई बाहिर निकालेको छ ।
आयोगका सदस्य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यबाहक अध्यक्ष सुवोध सिंह थारूले बताए ।
उनले भने, ‘ उहाँ (माननीय शान्ति मोदी)एक हप्ताको बिदा लिनुभयो। हामीले दियौं। तर, उहाँ एक महिना बेपत्ता हुनुभयो। हामीले खोजीनीति गर्यौं।कुनै सम्पर्कमा आउनुभएन। अहिले उहाँ पूरै महिनाको हाजिरी गर्न दिनुपर्छ भनेर विवाद झिक्नुभयो। म कार्यकक्षमा काम गरिरहेका बेला बाहिरबाट ताला लगाइदिनुभयो।’
‘दिउँसो साढे १२ बजेदेखि विवाद सुरू भएपछि सिंहदरबार प्रहरी वृत्तका प्रहरी आएर ढोका खोल्न लगाएका छौं’ उनले भने । यता, सदस्य मोदीले आफू बुधबारदेखि कार्यालय आइरहेको भएपनि हाजिरी गर्न नदिएपछि कार्यबाहक अध्यक्षको कार्यकक्षमा ताला लगाइदिएको स्वीकार गरिन् ।







Facebook Comments