काठमाडौँ । काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादको विषयमा भएको घटनालाई लिएर तारकेश्वर-११ का वडाध्यक्ष कविराज बस्नेत अहिले प्रहरी नियन्त्रणमा छन् ।

महादेव खोला किनारको संरचना निर्माणमा विवाद चलिरहँदा तारकेरश्वरतर्फको सरकारी जग्गा व्यक्तिको नाममा पारेर महानगरतिर पर्खाल लगाइ जमिन मिचिएको भन्दै असार २३ मा दुईतिरका स्थानीयबीच झडप भएको थियो । सोक्रममा केही घाइते भएका थिए । उक्त झडपलाई लिएर वडाध्यक्ष बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दले मुद्दा दर्ता भएको जानकारी पाएर वडाध्यक्ष कविराज बस्नेत आफैँ प्रहरीमा उपस्थित भएको बताए । ‘उहाँको बयान भइरहेको छ’, उनले  भने ।

वडाध्यक्षसहितलाई ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि स्थानीयले बिहान बालाजु प्रहरी चौकी घेराउ गरेका थिए । महादेव खोलामा पर्खाल लगाएको विषयमा यहाँ वर्षौंदेखि विवाद थियो । काठमाडौं महानगरपालिका-१६ र तारकेश्वर नगरपालिकाबीचको सीमामा रहेको यो खोलाको किनारमा मेसिनरी वाल निर्माणले आफूहरू विस्थापित हुने भन्दै महानगरबासी आन्दोलित छन् । यो मुद्दा अदालतसम्म पुगेको थियो ।