काठमाण्डाै । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच प्राज्ञिक र कृषि अनुसन्धानका विविध विषयमा आपसी सहकार्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

परिषद्को केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा भएको कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिना र विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा खाद्यान्न, तरकारी र पशुपालनका उत्पादन र प्रविधिको व्यावसायीकरण, प्राङ्गारिक उत्पादनका प्रविधिको विकास, अत्याधुनिक प्रविधिको कृषिमा प्रयोगलगायतका विषयमा दुवै संस्थाको सहकार्यका पक्षहरूलाई समावेश गरिएको छ । यसैगरी कृषि र पशुपक्षीसँग सम्बन्धित प्रकाशित सामग्रीको आदानप्रदान, उपलब्ध बीउबिजन र सामग्रीको आदानप्रदान, शैक्षिक कार्यक्रमको तर्जुमा, उच्च  तहका शोध अनुसन्धान र शोधपत्रजस्ता विषयमा सहकार्य गर्ने उल्लेख छ ।

हस्ताक्षर कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा. तिम्सिनाले दुवै संस्थाबीच भएको यो समझदारीले राष्ट्रिय प्राथमिकतामा आधारित कृषि अनुसन्धानमा अत्याधुनिक प्रविधिसमेतको प्रयोग गरी उपयुक्त प्रविधि विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताए । साथै उनले परिषद्का वैज्ञानिक एवम् विश्वविद्यालयका विद्यार्थीहरूबीच प्राज्ञिक सम्बन्ध कायम गरी उत्कृष्ट अनुसन्धानमार्फत वृत्तिविकास गर्न सहयोग पुग्ने धारणा राखे ।

यो समझदारीको प्रभावकारी कार्यान्वयनबाट तोकिएका लक्ष्य हासिल गर्नसकिने परिषद्का कार्यकारी निर्देशक डा. तिम्सिनाले विश्वास व्यक्त गरे । यसैगरी विश्वविद्यालयका अध्यक्ष प्रा. जोशीले नेपालको आर्थिक विकासको लागि उत्कृष्ट कृषि अनुसन्धान र शिक्षणका लागि परिषद् जस्तो संस्थासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले वैज्ञानिकसँग विद्यार्थीको सहकार्यले केही वर्षमा प्रतिफल देखिने आश लागेको बताए ।

राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीमत श्रेष्ठले परिषद्लाई मानित विश्वविद्यालयको अवधारणामा लैजाने प्रयास भइरहेको बेला सहकार्यले देशभित्र कृषिको अनेक समस्या समाधान गर्न उत्कृष्ट प्राज्ञिक जनशक्तिको विकास गर्न सकिने धारणा राखे ।

कार्यक्रममा परिषद्का पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल, बाली तथा बागवानी अनुसन्धान निर्देशक बिनेशमान साखः, आर्थिक प्रशासन निर्देशक मनसकुमार कँडेल, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय, कार्यकारी निर्देशकको सचिवालयका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्याल र प्राविधिक अधिकृत रबिन गिरीलगायतको उपस्थिति थियो ।