
काठमाडौँ । अमेरिकाबाट निष्कासित (डिपोर्ट) भएका एक सय ९३ जनामध्ये २ जनाले प्रहरीमा उजुरी गरेका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता त्यहाँबाट ‘डिपोर्ट’ भएर नेपाल फिर्ता भएकामध्ये दर्ता भएको यो पहिलो उजुरी हो ।
मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पगेनीका अनुसार अमेरिकाबाट डिपोर्ट भएका दुई जना र एजेन्टलाई पैसा बुझाए पनि अमेरिका हिँडैर बीचबाटोबाटै फर्किएका एकजनाको पनि उजुरी परेको छ । अमेरिकामा मानव तस्करीको आरोपमा उजुरी गर्नेमा बर्दिया, सल्यान र रुकुमका एक÷एक जना छन् ।
यसअघि डिपोर्ट भएर आएकाहरूले रकम बुझाएर अमेरिका गएको खुलाए पनि पठाउने गिरोहको नेटवर्कबारे बोल्न चाहेका थिएनन् । ‘मानिसहरुको फसेको पैसा नै उठाउने ध्यान हुँदो रहेछ,’ पगेनीले भने, ‘पैसा लिनेहरुले फिर्ता दिने आस दिएपछि उहाँहरु उजुरीमा नआएको देखियो । हामीले उजुरीको महत्व र आवश्यकताबारे पीडितलाई बुझाएका कारण उजुरी आउन थालेको छ ।’ पगेनीका अनुसार उनीहरुले रकम हालेका खातावालाहरुको नाममा उजुरी दर्ता भएको छ ।
अमेरिकाबाट फर्किएका सहित असार यता ब्युरोमा मानवतस्करी आरोपमा ९ मुद्दा दर्ता भएका छन् । प्रमुख पगेनीका अनुसार मुद्दा दर्ता गराउनेमा पोल्यान्डबाट फर्किएका १ जना, क्यानडा र स्पेनबाट फर्किएका ३/३ जनाले पनि छुट्टाछुटै मुद्दा दर्ता गराएका छन् । ग्रिसबाट फर्किएका ३ जनाले भने संयुक्त रुपमा मुद्दा दर्ता गराएका छन् ।
राष्ट्रपति ट्रम्पले २० जनवरी २०२५ बाट दोस्रो कार्यकाल सुरु गरेलगत्तै नेपाल नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको छ । ट्रम्प आएपछि २० महिलासहित १ सय ९३ जना डिपोर्ट भएका हुन । ७ वर्षमा अमेरिकाबाट डिपोर्ट हुनेको संख्या भने ४ सय २० जना रहेको छ ।







Facebook Comments