
काठमाण्डाैँ । राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र घोषणाको माग गरेपनि संविधानको पालाना गर्दै संसदमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चरम विवाद उत्पन्न भएको छ। विवाद उत्पन्न हुँदा असन्तुष्ट समूहले पार्टी अध्यक्षलाई कार्यसम्पादन समितिको बैठक बोलाउन माग गरेका छन्।
राप्रपाको कार्यसम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अहिले ४१ जना सदस्य रहेका छन् भने असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका महामन्त्री धवल शमशेर राणासँग ११ जना सदस्य रहेका छन्। विधान अनुसार १७ जना सदस्य कार्यसम्पादन समितिको बैठक माग गर्न सक्छन्। उनीहरूले माग गर्दैमा अध्यक्षले बैठक बोलाउन अवस्था नभएको राप्रपामा एक नेताले बताए। बैठक माग गरेको विषयमा कुराकानी गर्न खोज्दा महामन्त्री राणाले आफू अहिले बैठकमा भएको बताए।
राप्रपाभित्र पनि आन्तरिक विवाद बढ्दै गएकाले पुराना तथा त्यागी नेताहरूले राजीनामा दिन थालेका छन्। विवादका कारण नवराज सुवेदीको जिम्मेवारी खोसिनु, प्रवक्ताबाट सगुन लावतीलाई हटाउन तथा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिवले पार्टीका कार्यकर्तामाथि नै अभद्र व्यवहार गर्नु रहेको छ। यसकै कारण राप्रपाभित्रको विवाद बढेपछि केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले राजीनामा दिइसकेका छन्। मुलुकमा राजसंस्था फर्काउने आन्दोलनमा लागेको राप्रपाभित्र आन्तरिक कलह चर्कंदै जाँदा कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन्।
राप्रपा त्यागी राजावादी आन्दोलनको नेतृत्व गरेका पूर्वपञ्चनेता नवराज सुवेदीले विगतमा सम्हालेको पार्टी अनुशासन समिति संयोजकको जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई जिम्मा दिएपछि सुवेदी निर्वाचन आयोगको ढोका ढक्ढक्याउन समेत पुगेका थिए।
राप्रपाले २५ असारमा अनुशासन समिति संयोजकमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए। अध्यक्ष लिङ्देनले प्रवक्ताबाट नेता सगुनसुन्दर लावतीलाई पनि हटाए। लावतीले पछिल्लोपकट महामन्त्री डा. धवलशमशेर राणाको अभियानलाई साथ दिएका थिए। सुवेदीलाई हटाएकोमा डा.प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, महामन्त्री डा.धवल शमशेर राणा र कुन्ती शाहीले अध्यक्ष लिङ्देनले विधानविपरीतको कार्य गरेको सार्वजनिक विज्ञप्ति जारी गरे। अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्ष गिरीलाई पदमुक्त गरिदिए। गिरीलाई लिङ्देनले नै केन्द्रीय सदस्य र उपाध्यक्ष मनोनीत गरेका थिए। जसले मनोनित गरेर उसैले पदमुक्त गरेको जानकारी दिए।
विवाद चुलिँदै गएपछि राप्रपा अध्यक्ष लिङ्देनले उपाध्यक्ष रविन्द्र मिश्रलाई घरमा पुगेर भेटेका थिए। अहिले पनि राप्रपामा विवाद साम्य हुने अवस्था आएको छैन। राजसंस्था पुर्नस्थापनाको मुद्दा लिएर सडकमा निस्केको भए पनि आन्तरिक विवाद चुलिएपछि आन्दोलन पनि तुहिएको थियो।
राप्रपामा विवाद चुलिँदै गएपछि असन्तुष्ट समूहले छुट्टै भेला समेत गरेका थिए। छुट्टै भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्षः डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्षः मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्सेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता, सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्री ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत ५० जनाको सहभागिता रहेको थियो। उनीहरूले छुट्टै भेला मार्फत पार्टी अध्यक्ष लिङ्देनलाई दबाब बढाएका थिए।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीभित्र विवादका लागि विवाद उत्पन्न गराएको बताए। ‘उहाँहरूले विवादका लागि विवाद ल्याउनु भएको हो,’ श्रेष्ठले भने। उनका अनुसार नवराज सुवेदीले आफू राप्रपामा नभएको घोषणा गरेपछि मात्रै रोशन कार्कीलाई अनुशासन समितिमा मनोनय गरिएको हो। ‘चैत ४ गते संयुक्त जनआन्दोलन समितिको घोषणा सभामा उहाँले (नवराज सुवेदी)ले राप्रपा छाडेको घोषणा गर्नु भएको थियो, त्यसपछि उहाँले जुन जुन पद धारण गर्नुभयो त्यो पद खाली भयो। त्यसमा अनुशासन समितिको संयोजक पनि खाली भएको थियो। सोही समितिको वरिष्ठ सदस्य रोशन कार्कीलाई संयोजक दिइएको हो ६ महिना अघि नवराज सुवेदीले नै कार्यवाह दिनु भएको थियो, त्यसकारण यो विवादको विषय थिएन, पार्टी छाडेपछि रिक्त रहेका पदमा अन्य सदस्यहरुलाई जिम्मेवारी दिनु नयाँ विषय होइन,’ राप्रपाका प्रवक्ता श्रेष्ठले भने।
उनले सगुन लावतीचाहि पार्टीभन्दा बाहिरको गतिविधिमा देखिएपछि ह्टाइएको बताए। ‘अध्यक्षले उहाँलाई पटक पटक सचेत गराउनु भएको हो नमानेपछि अध्यक्षले मनोनयउन गरेको पद अध्यक्षले हटाएदिनु भयो विधि प्रकृया र विधान अन्र्तगत नै छ,’ श्रेष्ठले भने। मुकुन्दशरण गिरीको हकमा पनि त्यही लागु भएको श्रेष्ठको दाबी छ।
राप्रपा संस्थापन पक्ष असन्तुष्ट पक्ष तथा संस्थापनविरुद्ध अभिव्यक्ति दिँदै आएका नेताहरूविरुद्ध कठोर हुने संकेत देखिएको छ। यसअघि नै पार्टी अनुशासन विभागकोे बैठकले पार्टीको बृहत्तर हित र एकताविपरीतका गतिविधि नगर्न/नगराउन सचेत गराइसकेको छ। अनुशासन समितिले पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई उच्च प्राथमिकतामा राख्न तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लिखित वा मौखिकरूपमा व्यक्तिगत वा गुटगत अभिव्यक्ति नदिन अनुरोध गरेको छ।
महामन्त्री राणाले नेतृत्व गरेको असन्तुष्ट समूहले अध्यक्ष लिङ्देनविरुद्ध पार्टीमा अन्तर्संघर्ष चलाउँदै जाने जनाएको छ। ‘हामीले हाम्रो धारणा सार्वजनिक गरिसकेका छौँ। पार्टीमा अध्यक्षको एकाधिकार र मनोमानी हुन दिदैनौँ,’ राणा समूहका एक नेताले भने। राजावादी आन्दोलनका लागि गठित समितिका संयोजक सुवेदीले ४ चैतमा सार्वजनिकरूपमा पार्टी परित्याग गरेका थिए। त्यसवेला पूर्वराजा ज्ञानेन्द्र शाहको रुचिअनुसार सुवेदीलाई आन्दोलनको कमान्ड दिइएको र राप्रपालाई छायामा पार्न खोजिएको विश्लेषण राप्रपामा थियो। पार्टी छाडेका सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा राप्रपाका नेताहरू डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणालगायत थिए। जनआन्दोलन परिचालन समितिसंयोजक राप्रपा महामन्त्री डा. धवलशमशेर राणा थिए। यो समयदेखि नै राप्रपामा आन्तरिक विवाद चुलिएको थियो। ‘पार्टीलाई वाइपास गरेर साथीहरुले आन्दोलन गर्छौ भन्नुभएको थियो चैत १५मा देखियो, जसले राजालाई समेत थप बद्नाम गरायो.’ राप्रपाका एक नेताले भने।
लिङ्देनमाथि अर्को आरोप
१८ वर्षदेखि राप्रपा पार्टीमा धार्मिक एजेन्डा र राजसंस्थाको पक्षमा समर्पित भएर सक्रिय रहेका राजु गैरे आफ्नै पार्टीभित्र राजनीतिक आक्रमणको सिकार बनेको र आक्रमणकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले नै जोगाएको आरोप लागेको छ। गैरे आफ्नै पार्टीभित्र अन्यायमा परेका असन्तुष्ट समूहले जनाएका छन्।
‘आफ्नै पार्टी भित्रको राजनीतिक गुन्डागर्दीको विरुद्ध न्याय माग्दा अध्यक्ष लिङ्देन भने तिनै व्यक्ति वरिपरि राखी कार्यक्रममा व्यस्त देखिन्छन् यो उनले संरक्षण गरेका छन् भन्ने प्रस्ट देखिएको छ,’ असन्तुष्ट समूहका एक नेताले भने, ‘यस्ले प्रष्ट हुन्छ कि राप्रपा भित्र सबै कार्यकर्तालाई समान व्यबहार हुदैन र हुन छाड्यो।’ गएको बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले सामाजिक सञ्जालमा अध्यक्षको आलोचना गरेको निहुँमा गैरेमाथि आक्रमण गरेका थिए। पार्टी कार्यालय नजिकैको छाप्रो रेस्टुरेन्टमा चिया खाइरहेका बेला गैरेको टाउकोमा हेल्मेटले प्रहार गरिएको थियो।
सो घटनाको भिडियो अहिले सामाजिक सञ्जाल र मिडियामा सार्वजनिक भइसकेको छ। घटनापछि गैरेले प्रहरीमा ठाडो निवेदन दिए पनि हालसम्म प्रहरी प्रशासनले किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको आरोप छ। सो घटनापछि पार्टी नेतृत्व मौन रहेको पनि असन्तुष्ट समूहले जनाएको छ। पार्टी सचिवालयमा कारबाहीको माग गर्दै उजुरी दर्ता गरिए पनि अहिलेसम्म पार्टीको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया नआएको र पीडितसँग एकपटक सम्पर्क समेत नगरिएको आरोप पनि लगाइएको छ। तर पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले खडायत र गैरेबीच भएको झगडा पार्टीमा नजोडिएको र व्यक्तिगत भएको दाबी गरे। ‘पार्टीभन्दा बाहिर पनि जीवन छ व्यक्तिगत विषय हुनसक्छ,’ प्रवक्ता श्रेष्ठले भने। नागरिक







Facebook Comments