
काठमाडौँ । विशेषज्ञ चिकित्सकहरूको विशेष परीक्षा (स्पेशल एक्जाम)मा योपटक अचम्म पार्ने गरी चिकित्सकहरू उत्तीर्ण भएका छन्।
नेपाल मेडिकल काउन्सिलले यही साउन १५ र १६ गते लिएको विशेषज्ञ चिकित्सकहरूको विशेष परीक्षामा हालसम्मकै सबैभन्दा धेरै ९१.८२ प्रतिशत उत्तीर्ण भएका हुन्। काउन्सिलका अनुसार उक्त परीक्षामा सहभागीका लागि आवेदन दिएका एक हजार ७९ जनामध्ये परीक्षामा सहभागी एक हजार ७६ जनामध्ये ९९८ जना (९१.८२ प्रतिशत) उत्तीर्ण भएका छन्। ४ जनाको नतिजा स्थगितमा राखिएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतीश देवले भने‚ ‘आवेदन दिएका एक हजार ७९ जनामध्ये परीक्षामा एक हजार ७६ जना सहभागी हुनुभएको थियो। तीमध्ये ९९८ जना (९१.८२ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुनु भएको छ। यो हालसम्मकै राम्रो नतिजा हो भन्नुपर्यो।’
चिकित्सा शिक्षाअन्तर्गत विश्वविद्यालयमा एमडी,एमएस तहको परीक्षा उत्तीर्ण गरेपछि चिकित्सकहरूले काउन्सिलको विशेष परीक्षा पनि उत्तीर्ण गरेपछि मात्रै विशेषज्ञ चिकित्सकको रूपमा आधिकारिता पाउँछन्। यसपछि मात्रै चिकित्सकहरूले आफ्नो विषय विज्ञताको आधारमा काम गर्न पाउँछन्। योपटक परीक्षामा कुल ३६ विषयका विद्यार्थीहरू सहभागी थिए। गत वर्ष पनि काउन्सिलले साउनमा लिएको यही परीक्षामा ९१.४५ प्रतिशत उत्तीर्ण भएका थिए तर यो वर्ष गत वर्षभन्दा झन् धेरै हुँदा ९१.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।
किन यति धेरै विद्यार्थी स्पेशल एक्जाममा उत्तीर्ण हुन सफल भए त भन्ने प्रश्नमा काउन्सिलका रजिष्ट्रार डा देवले भने‚ ‘गत वर्ष पनि यो समयमा लिएको परीक्षामा विद्यार्थीहरू राम्रो संख्यामा पास हुनुभएको थियो। योपटक पनि गत वर्षभन्दा पनि राम्रो नतिजा आएको छ। यसको कारण भनेको यतिखेर भर्खरै विद्यार्थीहरू विश्वविद्यालयको पढाइ सकेर बसेका हुन्छ र नतिजा आएपछि लगत्तै हाम्रो परीक्षामा सहभागी हुने हुँदा फ्रेस भएका कारणले पनि नतिजा राम्रो आएको होला, फेरि भर्खरै विश्वविद्यालयबाट पास आउट भएका विद्यार्थीलाई हाम्रो परीक्षा गाह्रो नलाग्न पनि सक्छ किनभने विश्वविद्यालयमा नै अध्यापन गराउने विषय विज्ञ चिकित्सकहरूले नै प्रश्न गराउनु हुन्छ।’
उक्त परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन गरिएको थियो।




_eDRH6Bm5KD.jpg)


Facebook Comments