लहान । सप्तरीको कमलपुरमा गए राती भएको घटनाको विरोधमा मृतकका आफन्तद्वारा सप्तरीको राजविराजमा प्रदर्शन भइरहेको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै केही बेर अघिदेखि मृतकका आफन्तहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेका एक जनाको मृत्यु भएको भएको छ।

प्रहरीले चलाएको गोली लागेर स्थानीय  ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । उपचारकै क्रममा उनको ‌ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मंगलबार मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

डिएसपी  बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र बायाँ तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा मृत्यु भएको बताए ।

उनका अनुसार झडपमा एक जना प्रहरी पनि घाइते भएका छन् । झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको उनले बताए ।

यस्तै मदिरा तस्करीमा संलग्नहरूको आक्रमणबाट प्रहरी इन्स्पेक्टर वीरेन्द्रकुमार यादव र सहायक हबलदार सिकेन्द्र थारु घाइते भएका छन् ।