काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाका सांसदहरूले संसदीय मर्यादा कायम गर्न नसकेको बताएका छन्।  बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा शर्माले संसदीय व्यवस्थामा आफ्ना कुरा राख्ने र समाधान खोज्न सकिने भएपनि लामो समयदेखि सदनमा आफ्नो कुरा राख्ने र बाहिरिने कामले रास्वपाका सांसदहरूले संसदीय मर्यादा कायम गर्न नसकेको बताएका हुन्।

उनले कुनै पनि विषयलाई आवेगमा आएर हेर्न नहुने भन्दै अराजक शैलीबाट मुक्त हुन रास्वपा सांसदहरूलाई सुझाव दिए । त्यस्तै शर्माले रवि लामिछानेको पक्षमा भन्दै गरिएको हस्ताक्षर अभियानप्रति पनि प्रश्न उठाए।

उनले कुनै पनि अदालतले लामिछानेलाई कसुर नगरेको भन्न सकिने अवस्था नरहेको उल्लेख गर्दै धरौटीमा छुट्दा न्याय मिल्यो भन्नेले थुनामा पठाउँदा प्रतिशोध भयो भन्न नमिल्ने जिकिर गरे। लामिछानेले टेलिभिजनमा कार्यक्रम चलाउँदा अदालतको आदेश नमान्नेमाथि कडा प्रहार गरेको स्मरण गर्दै शर्माले अहिले अदालतको आदेशविरुद्ध हस्ताक्षरमार्फत् कसलाई दबाब दिन खोजेको ? भन्दै प्रश्न समेत गर‍े।