
काठमाडौँ । काठमाडौँको बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन १८ मा लामा पेट्रोल पम्प अगाडी मकवानपुर घर भएर गोकर्णेश्वर नगरपालिका–४ नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारमा संलग्न आरोपमा पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भएर दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भएर जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगर छन् । उनीहरूलाई बुधवार काठमाडौँ महानगरपालिका–६ रामहिटी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।
पीडित युवकको अहिले वीर अस्पतालमा उपचार हुँदैछ । उनको बायाँ कान पछाडिको भागमा चोट लागेको एसपी चन्दले जानकारी दिए । खुकुरी प्रहारमा संलग्नहरू लागुऔषध प्रयोगकर्ता हुन् । घटनास्थल नजिकबाट प्रहरीले दुई वटा खुकुरी बरामद गरेको छ ।
अघिल्लाे दिन मिनिरल वाटरको बोतलको विषयमा विवाद हुँदा भोलिपल्ट खुकुरी हानेको आरोपीहरूले प्रहरीसँग बताएका छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘अघिल्लो दिन मिनिरल वाटरको विषयमा विवाद भएको रहेछ ।’







Facebook Comments