काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद बढ्दै जाँदा दुवै पक्षले गुटगत गतिविधि बढाएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्ष एकअर्काविरुद्ध रणनीति बनाउन तारन्तार बैठक बसिरहेका हुन् ।  

होटलदेखि कोठे बैठकमा समेत दुई पक्षका नेताहरू संलग्न भएका छन् । सोही गुटगत गतिविधिको निरन्तरता स्वरूप बिहीबार समेत अध्यक्ष राजेन्द्र लिङ्देन पक्षको बैठक बोलाइएको छ ।

बत्तीसपुतलीस्थित तपस होटलमा लिङ्देन पक्षको बैठक बोलाइएको हो । उक्त बैठकमा लिङ्देन निकटका सबै केन्द्रीय सदस्य र नेताहरुलाई बोलाइएको एक नेताले बताए ।

उक्त बैठकमा पार्टीभित्रको अन्तरविरोध,  धवलशमशेर राणा समूहविरुद्धको रणनीतिसहित आगामी महाधिवेशन लक्षित योजनाबारे समेत छलफल हुने ती नेताको भनाइ छ । राप्रपाका नेता हेमजंग गुरुङसहितले बैठकका लागि बुधबार होटल बुकिङ गरेका थिए ।

साउन दोस्रो साता पनि लिङ्देन पक्षको सोही होटलमा बैठक बसेको थियो ।

उसो त केही दिनअघि राणासहितको इतर समूहको पनि राजधानीको हात्तीसारस्थित नेपाल हाउसमा बैठक बसेको थियो भने त्यसअघि राणाको निवासमै बैठक बसेर लिङ्देनको गलत क्रियाकलापविरुद्ध चुप लागेर नबस्ने निर्णय भएको थियो ।

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले महाधिवेशन नजिकिँदै गएको परिप्रेक्ष्यमा पक्ष, विपक्ष हुनु स्वाभाविक भएपनि अध्यक्षकै निर्देशनमा  एकपक्षीय भेला भएको आफूले राप्रपाको इतिहासमै नदेखेको बताए ।

‘अध्यक्षज्यू साझा बन्न सक्नुभएन । शुक्रबार बोलाएको भनिएको भेला मूलतः गुटगत हो  । यसको कुनै अर्थ र महत्त्व छैन’, उनले भने, ‘यो तोकिएको समयमा अधिवेशन हुन नदिने र अधिवेशन लम्बाउने प्रपञ्च हो। हामी तोकिएको समय (मङ्सिर)मै अधिवेशन हुन पर्छ भन्ने पक्षमा छौँ । पाठक राणा निकटको इतर समूहमा रहेका छन् ।

दुई पक्षीय विवादकै बिच महामन्त्री राणाले पार्टी अध्यक्ष  लिङ्देनलाई आइतबार एक पत्र लेखेका थिए । लिङ्देनलाई सम्बोधन गरेर पार्टी कार्यालयका दिइएको पत्रमा अध्यक्षको हालका गतिविधिबाट कार्यकर्ता चिन्तित र सशंकित भएको उल्लेख गरिएको थियो ।

पत्रमा राणाले स्थानीय तहमा अधिवेशनको प्रक्रिया जारी रहेको उल्लेख गर्दै जिल्ला अधिवेशनको सन्दर्भमा केन्द्रीय निर्वाचन समितिबाट जारी गरिएको परिपत्रको उल्लङ्घन गर्दै स्वेच्छाचारी ढंगमा पार्टी नेताहरूमाथि कारबाही तथा निष्कासन गरिएको भन्दै आपत्ति जनाएका थिए । यसबारेमा छलफलका लागि राणाले तत्काल केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउन समेत माग गरेका थिए । पत्र बुझाएपनि लिङ्देनले अहिलेसम्म सो सम्बन्धमा कुनै छलफल नगरेको राणा समूहको भनाइ छ ।

बरु अहिले लिङ्देन पक्षको बैठक बोलाएर तल्लो तहका अधिवेशनदेखि महाधिवेशनसम्म सार्ने तथा पार्टीको बैठक समेत नबोलाउने रणनीति भएको राणा पक्षीय एक नेताले आरोप लगाए । लिङ्देन पक्षले भने राणा समूहको गतिविधिको कुनै अर्थ नरहेको भन्दै अध्यक्षले विधानअनुरूप काम गर्दै आएको दाबी गरेको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले राणालाई संगठन विभाग प्रमुखबाट हटाएपछि सुरु भएको विवाद पछिल्लो समय नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएसँगै थप चर्किएको छ । जुन विवाद निर्वाचन आयोगमा समेत पुगेको छ  ।