काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग अहिले छलफल गरिरहेका छन् । आफ्नो निवास बुढानीलकण्ठमा देउवाले करिब एक घण्टादेखि छलफल गरिरहेको निकट स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार पार्टी सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको विषयमा के गर्ने भन्ने मुख्य विषयमा छलफल भइरहेको हो ।  खतिवडालाई ‘कुलिङ अफ पिरियड’ मा राज्य व्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभाले पास गरेको व्यवस्था निष्क्रिय पार्ने वाक्यांश परेको विषयमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार भएको ठहर गरेको छ ।

छानबिन समितिले नैतिक जिम्मेवार ठहर गरेपछि राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने आवाज सत्तारुढ दल नेकपा एमाले र विपक्षी दलका नेताहरूले गर्दै आएका छन् । तर, खतिवडाले भने छानबिन समितिले निर्णय गरेकै दिन पार्टी नेतृत्वसँग सल्लाह गरेर कसरी अगाडि बढ्ने भन्ने तय गर्ने बताएका थिए ।

त्यो बाहेक बैठकमा मन्त्रीहरूको कार्यसम्पादन पार्टी महाधिवेशनको प्रक्रिया तथा कार्यसम्पादन समितिको बैठक बोलाउनेबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।