
काठमाडौँ। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नयाँ निर्माणाधीन संसद भवन तोकिएको समयमै सम्पन्न हुनेमा सरकार विश्वस्त छ कि छैन भन्दै प्रश्न गरेका छन्।
शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा उनले यस्तो प्रश्न गरेका हुन्।
सांसद बडूले संसद भवन निर्माणको काममा पटक-पटक म्याद थप्ने तर समयमै काम सम्पन्न नहुने कुरा दुःखद भएको बताए। उनले अबको प्राथमिकता म्याद थप्नुभन्दा पनि कामलाई तीव्रताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले भने, "हामीले थप्ने सुविधा खोजिरहेको हो कि, कस्ने कुरा हो? कसेर काम लिनुपर्ने कुरा प्राथमिकतामा हुनुपर्दथ्यो।"
बडूले यसपटक थपिएको समयभित्र (पुस १६ सम्म) संसद भवन निर्माण भइसक्छ भन्नेमा सरकार विश्वस्त हुनुपर्ने बताएका छन्। उनले नयाँ संसद भवन निर्माणमा ढिलाइ भएमा पेनाल्टी (जरिवाना) लगाएर काम गराउनुपर्ने सुझाव पनि दिए।







Facebook Comments