रसुवा । गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्‍याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौंको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
      
गोसाइँकुण्डमा हिमालयन उद्धार सङ्घले ६ जना एमबीबीएस चिकित्सक र अक्सिजन सिलिण्डर समेत पुर्‍याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् ।
सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको  नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।