काठमाण्डौ । भारतको उत्तराखण्ड राज्यमा बाढीपहिरोमा परी धादिङका ४ जना पनि सम्पर्कविहीन भएका छन ।

धादिङकाे ज्वालामुखी गाउँपालिका–२ काफलपानीका ४ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले जानकारी दिए । उनीहरुको खोजी तथा उद्धारका लागि गृह मन्त्रालयलाई जानकारी गराइएको उनको भनाइ छ । यो सँगै उत्तराखण्डको बाढीपहिरोमा परी वेपत्ता हुने नेपालीहरुको सङ्ख्या २२ जना पुगेको छ ।

यसअघि जाजरकोटका १२ जना, बर्दियाका ५ जना, जुम्लाका १ जना सम्पर्कविहीन भएको भन्दै पालिकाहरुले खोजीका लागि सङ्घीय  सरकारसँग आग्रह गरेका छन  ।

गएको मङ्गलबार आरिघोप्टे वर्षाका कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधवार पौडीगढवालमा पहिरो खसेको थियो । ती ठाउँमा मजदुरी गर्न र स्याउ टिप्न गएका नेपालीहरु बाढीपहिरोमा परेर सम्पर्कविहीन भएका हुन ।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका दूतावासले भारतीय पक्षसँग खोज तथा उद्धारको लागि समन्वय भइरहेको जनाएको छ ।

यसैबीच परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत उत्तराखण्डको बाढीमा सम्पर्कविहीन नेपाली नागरिकको खोजी एवम् उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिइन् ।

बाढीमा परेर जाजरकोट, धादिङ, बर्दिया र जुम्लाका नागरिक बेपत्ता भएको जानकारी आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल शुरू भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिइन् ।

हराएको भनिएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा काम गर्न दिल्लीमा रहेको नेपाली राजदूतावासलाई निर्देशन दिएको उनले बताए । पराष्ट्रमन्त्री राणाले बाढीपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसहित दुःख व्यक्त गरेका छन् । 

यही साउन २० गते भारत उत्तराखण्ड उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य चलिरहेको छ ।