
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वैशाखको अन्तिमसम्म संसद्बाट शिक्षा विधेयक पारित हुने बताएका छन् । बुधबार प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग सभामुखले गरेको छलफलपछि बर्तौलाले बजेट अधिवेशनबाट शिक्षकका माग पूरा हुने गरी विधेयक पारित गरिने बताएका हुन् ।
उनले शिक्षकहरूमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरे ।
संसद् अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई रोकेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ । उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसद्मा आउन वैशाखको अन्तिम सातासम्म लाग्न सक्ने बताए ।
'सार्वजनिक शिक्षाप्रतिको उहाँको जवाफदेहिता के छ ? उहाँहरू स्वयंले जान्नुहोस् । त्यसप्रति जवाफदेहितामा उभिनुपर्छ होला ,' उनले भने ।







Facebook Comments