काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

यता ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन् । गृहमन्त्री रमेश लेखकमार्फत् राजीनामा मागेका ओलीले राज्यमन्त्रीले राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।

ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान राख्दै आएका थिए भने केही दिनअघि सचिव सुरेश आचार्यले आफ्नो अपमान गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।