काठमाडौं। नेपाली कांग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्ने कार्यदलको संयोजक नेता कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार कार्यदल गठन गर्न लागिएको हो । कांग्रेसक एक शीर्ष तहका नेताका अनुसार संविधान निर्माणका क्रममा सक्रिय पूर्व महामन्त्री सिटौलालाई कार्यदलको संयोजक बनाउने गरी पार्टीभित्र छलफल चलेको छ ।

कार्यदलमा २÷३ दिनमा घोषणा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । पौडेलले भने, ‘कार्यदल २/३ दिनमा घोषणा हुन्छ । एक जना संयोजक बन्नुहुन्छ । कार्यदलमा रहने समिति सदस्य आवश्यकता र औचित्यताको आधारमा ५/७ जना बन्नुहुन्छ ।’

नेता सिटौलाले पार्टीले निर्णय गरे जिम्मेवारीमा बस्ने बताएका छन् । उनले, छलफल भएपछि मात्रै मेरो इच्छाले हुने÷नहुने कुरा हो । जिम्मेवारी पाएमा नबस्ने भन्ने कुरा पनि भएन ।

हामी मात्रै गर्छौं भन्यो भने एजेन्डा राख्न विधेयक ल्याउन हुन्छ । तर, पारित हुँदैन । त्यस्तो बाटोमा देशलाई हिँडाउन हुँदैन । संशोधन जहाँ आवश्यक छ, त्यसको बारेमा सहमति जुटाएर अगाडि जाने प्रयास गरौं भन्ने हो ।

संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय पार्टीले गरेको थियो । कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ । साथै, कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा समेत छलफल चलाउने जिम्मेवारी प्राप्त गर्नेछ ।

कांग्रेस–एमाले वीचमा सरकार बनाउने सहमति हुँदा संविधान संशोधनको एजेण्डा राखिएको थियो ।