काठमाडौँ । सत्तारुढ कांग्रेसका सांसद सञ्जय गौतमले नेपालमा भ्रष्टाचार संस्कृतिका रुपमा मौलाएको बताएका छन् । राज्यका निकायहरूको कार्य प्रणालीमा सुधार गरेर भ्रष्टाचार अन्त्यका लागि पहल गर्नुपर्ने सांसद गौतमको प्रस्ताव छ ।

प्रतिनिधिसभाको सार्वजानिक लेखा समिति शुक्रबार बैठकमा भएको बेरुजुसम्बन्धी छलफलमा कांग्रेस सांसद गौतमले भ्रष्टाचार गर्ने कार्य प्रणालीमा सुधारको आवश्यकता रहेको बताएका हुन् ।

राज्यका निकायहरूको कार्यप्रणाली पारदर्शी बनाउनुपर्ने सांसद गौतमको भनाइ थियो । ‘भ्रष्टाचार नै हाम्रो कल्चर (संस्कृति) जस्तो भएको छ । भ्रष्टचार नै हाम्रो संस्कृति जस्तो विकास भएको छ । यो बेलामा मुलुक अफ्ठ्यारो परिस्थितिमा भएकोले हामीले सोच्नैपर्ने स्थिति छ,' उनले भने, 'जबसम्म हामी प्रविधिको प्रयोग गरेर यो मुलुकलाई पेपरलेस र फेसलेस सिस्टममा लिएर जाँदैनौ, भ्रष्टाचारबाट मुक्ति पाउँदैनौ । यो बेरुजुबाट मुक्ति पाउँदैनौ ।'

सरकारले मुलुकलाई डिजिटल प्रविधिमा लैजानुपर्ने गौतमको प्रस्ताव थियो । 'त्यसकारण हामीले नेपाल सरकारलाई डिजिटल युग हो यो प्रविधिको उच्चतम प्रयोग गर्न सकिन्छ । हामीले पेपरलेस र फेसलेस सिस्टममा मुलुकलाई लैजान गम्भिरतापूर्वक तत्काल जानुपर्ने र निर्देशन गर्नुपर्ने आवश्यकता म देख्छु । त्यसले भ्रष्टचार सम्बन्धी सम्पूर्ण समस्यालाई समाधान गर्छ । सबभन्दा ठूलो समस्या पारदर्शीताको, त्यो नै भ्रष्टाचारको कारक तत्व हो,’ उनले भने ।

बैठकमा सांसद गौतमले बेरुजू फछ्र्यौटलाई सबै मिलेर तिव्रता दिनुपर्ने बताए । बेरुजु असुल उपर नियमित गर्नुपर्नेमा पनि उनले जोड दिए ।