काठमाण्डाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रूपमा रहेको राजसंस्था र हिन्दुराष्ट्रलाई विदेशीको इसारामा एम्बुसमा पारिएको दाबी गरेका छन्। आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपाली जनताको अभिमतविना विदेशी शक्तिको प्रभाव र प्रायोजनमा जबरजस्ती लादिएको एजेन्डाले मुलुकको हित गर्न नसक्ने बताए।

संघीयता नेपाली जनताले बुझ्नै नबुझेको भन्दै संघीयताको नाममा मुलुकले सेतो हात्ती पाल्न नसक्ने थापाले स्पष्ट पारे। २०६२/०६३ को परिवर्तनको समयमा आफूले धेरै नजिकबाट विदेशी दबाब र प्रभावलाई देखेको भोगेको थापाको दाबी थियो। 

मुलुकमा अहिले राजनीतिको नाममा सिद्धान्तच्युत, भ्रष्ट, नौटङ्की, ठगहरू हाबी भएको भन्दै थापाले मुलुकलाई स्वाधीन र समृद्ध बनाउने हो भने राप्रपा नेपालले लिएको विचारधाराबाट मुलुकलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो।

मुलुकलाई बचाउन र बनाउन अब सम्वर्द्धनवादको मार्गबाहेक अरू विकल्प नभएको भन्दै थापाले राप्रपा नेपाललाई मुलुकको वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा आफू अझै उच्च मनोबलसहित क्रियाशील भएको उनको धारणा थियो।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा डा. बालकृष्ण दाहाल, डा. सुदर्शन सुवेदी, अर्थविद् प्रकाश थापा, कृषि विज्ञ अश्विन आचार्य, विष्णु तिवारीलगायत विभिन्न महत्त्वपूर्ण व्यक्तिहरूलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए।