
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाले आइतबारदेखि विद्यार्थी भर्ना अभियान सुरू गर्न निर्देशन दिएको छ। शिक्षक आन्दोलनका कारण भर्ना अभियान र पठनपाठन अस्तव्यस्त हुँदै गएपछि गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बिहीबार एक सूचना जारी गर्दैं पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयलाई यस्तो निर्देशन दिएकी हुन् ।
पाण्डेले जारी गरिएको सूचनामा भनिएको छ,' ऐन तथा नियमावली विधिसम्मत प्रक्रियामा बन्ने कुरा हो ,यसमा दफावार छलफल भएर संसदको अधिवेशन समेत आह्वान भएको अवस्था छ । तसर्थ यो पारित हुन अझै केही समय लाग्ने देखिन्छ । त्यही नाममा विद्यालय बन्द गरिराख्न उचित भएन।'
अभिभावक ,विद्यार्थी तथा अन्य सरोकारवालाबाट विद्यालय सञ्चालन गर्न दबाब आएकाले आइतबारदेखि अनिवार्य स्कुल सञ्चालन गर्न हुप्सेकोटले निर्देशन दिएको छ । विद्यालय व्यवस्थापन समिति तथा वडा कार्यालयलाई विद्यालय सञ्चालन भए नभएको अनुगमन गर्न जिम्मेवारी तोकिएको छ ।







Facebook Comments