
बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकारलाई दबाब सिर्जना गर्न सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ ।
नगरपालिकाको पहलमा आइतबार भैरहवामा आयोजित निजी क्षेत्र र संघसंस्थाबीचको छलफलपछि खाँको संयोजकत्वमा ‘गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि संघर्ष समिति' गठन गरिएको हो । छलफलमा सहभागी निजी क्षेत्र र सरोकारवालाले अब संघर्ष गरेर जानुपर्ने निचोड निकालेपछि संघर्ष समिति बनाइएको हो ।
संघर्ष समितिको सहसंयोजकमा सिद्धार्थनगरका उपप्रमुख उमा अधिकारी र सदस्यहरुमा सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ छन् । यस्तै, अन्य सदस्यमा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, संघकै पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मा र सिद्धार्थ संजाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली छन् ।
उक्त समितिले कम्तीमा एक सातामा विमानस्थल सञ्चालनमा देखिएका समस्या, समाधानका उपाय र संघर्षका कार्यक्रमबारे खाका तयार पार्नेछ । यसपछि बृहत् पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । यसपछि सबै पार्टीका जिल्लास्थित र केन्द्रका नेताहरुलाई भेट गरी ध्यानाकर्षण गराइनेछ । यसपछि विमानस्थल नियमित सञ्चालनमा नआउँदासम्म निरन्तर दबाबका कार्यक्रम गरिने नगर प्रमुख खाँले बताए ।







Facebook Comments