
काठमाण्डाैँ । झण्डै आधा करोड जनाले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको दाबी सार्वजनिक भैरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र भने असन्तुष्टि देखिएको छ । एकथरी नेता–कार्यकर्ताले पार्टी छाडिरहेका छन् ।
डेढ वर्षको अवधिमा केन्द्रदेखि स्थानीय तहका दर्जनौँ नेताले पार्टी छाडेकोमा पछिल्लो पटक बागमती प्रदेश प्रचारप्रसार समितिका उपप्रमुख भविलाल चापागाईंले रास्वपामा नबस्ने घोषणा गरेका हुन् । उनले अरुलाई पनि रास्वपा छोड्न आग्रह गर्दै फेसबुकमा लेखेका छन्, ‘रास्वपाबाट फर्कन आम राष्ट्रभक्त नेपाली जनतालाई आग्रह गर्न चाहान्छौं !’
बाहिरबाट हेर्दा जस्तो देखिन्छ यथार्थमा रास्वपा त्यस्तो नरहेको उनको ठहर छ । भन्छन्, ‘तपाईं हामीले सोचेजस्तो रास्वपा छैन है हजुर ।’
सभापति रवि सहकारी ठगी, दोहोरो राहदानीलगायत विभिन्न काण्डमा मुछिएपछि रास्वपामा नेता–कार्यकर्ताको क्रमशः मोहभंग हुँदै गएको देखिन्छ । नेपाल प्रहरीको पूर्वडिआइजीसमेत रहेका नेता रमेश खरेललगायत सयौँ पार्टीबाट बाहिरिइसकेका छन् ।
ठीक एक वर्षअघि पनि प्रचार प्रसार विभाग प्रमुख सन्तोषकुमार दाहाल राजीनामा दिएर बाहिरिएका थिए । ‘जान्नेलाई छान्ने’ नाराबाट प्रभावित भएर सदस्यता लिएको उल्लेख गर्दै उनले भनाइ र गराइबीच तादम्यता नरहेकाले पद छोड्न बाध्य भएको प्रष्टीकरण दिएका थिए ।
पार्टी छोड्दै गर्दा दाहालले रास्वपा भ्रष्ट र ठगहरुलाई छान्ने पार्टी भएको आरोपसमेत लगाएका थिए । त्यसको दुई महिनाअघि रास्वपा प्युठानका संयोजक सुमन सुवेदीले पनि पार्टी छोडेका थिए । त्यसअघि मकवानपुरका संस्थापक अध्यक्ष राजकुमार न्यौपानेले पनि परित्याग गरेका थिए ।
घण्टी छोड्नेमा चितवनका सभापति धर्मेन्द्र सापकोटा पनि पर्छन् । पार्टीभित्र केहीको मनोमानी चलेको भन्दै उनी ०७९ सालमै बाहिरिएका हुन् ।
सभापति रविका सिइओ हेमन्त बराल पनि रास्वपा छोड्ने माथिल्लो तहकै नेतामा पर्छन् । एक वर्षका लागि नियुक्त भएका उनले असन्तुष्टि जनाउँदै ९ महिनामै उक्त जिम्मेवारी छोडेका थिए ।
नेपाल प्रहरीका पूर्वडीआइजी खरेल रास्वपा परित्याग गर्ने सबैभन्दा चर्चित अनुहार हुन् । सहकारी प्रकरणमा मुछिएका रवि ‘स्वार्थको द्धन्द’ बाझिने गरी गृहमन्त्री बनेकोप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेका उनी उपचुनावमा घन्टीको उम्मेदवार भइ बारा–२ बाट उठेका थिए ।
दाङमा पनि सो पार्टीका पाँच दर्जनबढी युवाले एकैचोटि विद्रोह गरेका थिए । जनअास्था







Facebook Comments