काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच वैशाख १७ गते पार्टी एकताको घोषणा हुँदैछ। तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने गरी दुई पार्टीबीच एकता घोषणा गर्ने तय भएका अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।

राउतको सचिवालयले भनेको छ, ‘धेरै पार्टी÷शक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ । नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’

उनले आफूहरूलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले जनमत÷नाउपालाई तहस–नहस गर्नका लागि विगत ७–८ महिनादेखि कुनै कसर नछाडेको उल्लेख छ । ‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधन स्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राऊ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्’ राउतको सचिवालयले भनेका छ ।

उनले तोकिएको समयमा एकता हुने दाबी गरेका छन् । उनले भनेका छन्, ‘हामी आत्तिएका छैनौँ । तपाईँहरू पनि नआत्तिनुहोला । जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढ्ने नै छौँ। एकता हुन्छ नै ।’

पार्टी एकतापछि पार्टीको नाम नागरिक जनमत रहने दुई पार्टीबीच सहमति भइसकेको छ । भने अध्यक्ष राउत, संरक्षकमा रेशम चौधरी र रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने सहमति भएको छ। संयुक्त पार्टीको चुनाव चिन्ह ढकिया रहनेछ । पार्टी एकता निश्चित भएपछि दुवैतर्फबाट कार्यदल बनाएर काम भइरहेको छ । दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ। संसद्मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सीट नै छ ।

तराइको सबैभन्दा ठुलो पार्टी जसपा थियो । जसपा विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता हुँदा तराइ मधेशको सबैभन्दा ठुलो पार्टी बन्नेछ।